प्रदीप सम्राट, रौतहट ।
फाल्गुन १७ गते, आइतबार ।
रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गत पर्ने चन्द्रपुर आज दिनभर चुनावी उत्साहले गुञ्जायमान बन्यो। नेपाली कम्युनिष्ट पार्टी का तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामकुमार भट्टराईको समर्थनमा निकालिएको तारा छापको विशाल र्यालीले अभूतपूर्व जनसहभागिता जुटाउँदै शक्ति प्रदर्शन गरेको छ। आयोजकहरूका अनुसार यो र्याली क्षेत्रकै हालसम्मकै सबैभन्दा ठूलो राजनीतिक प्रदर्शनमध्ये एक बनेको दाबी गरिएको छ।

बिहानैदेखि विभिन्न वडा र बस्तीबाट झण्डा, ब्यानर र चुनाव चिन्ह अंकित प्लेकार्ड बोकेका नेता–कार्यकर्ता तथा समर्थकहरू चन्द्रपुर बजार क्षेत्रमा भेला भएका थिए। नाराबाजी, गीत–संगीत र उत्साहपूर्ण माहोलबीच सुरु भएको र्याली मुख्य चोक, बजार क्षेत्र र आसपासका टोलहरू परिक्रमा गर्दै आमसभामा परिणत भएको थियो। र्यालीमा सहभागी जनसमुदायको बाक्लो उपस्थितिले स्थानीयवासीसमेत आश्चर्यचकित बनेका थिए।

आमसभालाई सम्बोधन गर्दै वक्ताहरूले तारा छापका उम्मेदवार रामकुमार भट्टराईलाई सुयोग्य, कर्मठ, इमान्दार र गरीब–किसानको पक्षमा निरन्तर आवाज उठाउँदै आएका व्यक्तित्वका रूपमा चित्रण गरे। उनीहरूले विकास, सुशासन, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता दोहोर्याउँदै मतदातासँग समर्थनको अपिल गरेका थिए। कार्यक्रममा वक्ताहरूले यसपटक क्षेत्र नम्बर–४ मा परिवर्तनको लहर बलियो बन्दै गएको दाबी गर्दै भट्टराईको विजय सुनिश्चित रहेको आकलन प्रस्तुत गरेका थिए।

कार्यक्रममा पूर्व प्रदेश मन्त्री युवराज भट्टराई ‘समीर’, पूर्व सांसद देवेन्द्र पटेल, देवकी नेपाल, कल्याणी खड्का, सीकेन्द्र पटेल, धर्मेन्द्र पटेल, नगर प्रमुख विनोद प्रसाद कुर्मी, हरिनारायण पटेल, बैंजु पटेललगायतका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले आ–आफ्नो धारणा राख्दै संगठनात्मक एकता, मतदातासँग प्रत्यक्ष संवाद र घरदैलो अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

र्यालीपछि सम्पन्न घरदैलो कार्यक्रममा उम्मेदवार भट्टराईले स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, अपेक्षा र सुझाव सुनेका थिए। सडक पूर्वाधार, सिँचाइ, रोजगारी, युवाको विदेश पलायन, महिला सशक्तीकरण तथा सामाजिक सुरक्षा जस्ता विषयमा मतदाताले आफ्ना धारणा राखेका थिए। भट्टराईले जनताको विश्वासलाई नै आफ्नो सबैभन्दा ठूलो शक्ति बताउँदै निर्वाचित भएमा जनभावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। समग्रमा चन्द्रपुरमा सम्पन्न तारा छापको र्याली र आमसभाले क्षेत्र नम्बर–४ को चुनावी माहोललाई थप तातेको संकेत दिएको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ। चुनाव नजिकिँदै जाँदा यस्ता शक्ति प्रदर्शनहरूले मतदाताको मनोविज्ञानमा प्रभाव पार्ने आँकलन गरिएको छ।

रौतहट–४ मा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको अवस्थामा चन्द्रपुरको यो प्रदर्शनलाई तारा छाप पक्षले आफ्नो पक्षमा बढ्दो जनलहरको संकेतका रूपमा लिएको छ। अब मतपेटिकामा यस उत्साहको कति रूपान्तरण हुन्छ भन्ने कुराले नै अन्तिम परिणाम निर्धारण गर्नेछ।



























