प्रदीप सम्राट, रौतहट ।
चैत ११ गते, बुधबार ।
रौतहटको बृन्दावन नगरपालिकाले जनस्वास्थ्यलाई प्राथमिकतामा राख्दै लामखुट्टे नियन्त्रण अभियानलाई तीव्र बनाएको छ। नगर प्रमुख विनोद प्रसाद कुर्मीको पहलमा बुधबार राति वडा नम्बर ६ को सिसवा धमौरा र वडा नम्बर ७ को सखुवा धमौरामा फोग्गिङ् तथा औषधि छर्कने कार्यक्रम सम्पन्न गरिएको हो।
गर्मी मौसमसँगै डेंगु, मलेरिया तथा चिकनगुनिया जस्ता सरुवा रोगको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै गाउँ–गाउँमै पुगेर लामखुट्टे नष्ट गर्ने, धपाउने तथा लार्भा नियन्त्रण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
उक्त कार्यक्रममा फोग्गिङ मेसिनमार्फत औषधि छर्किएको थियो, जसले लामखुट्टेको प्रजनन नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको छ। अभियानमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको सक्रिय सहभागिता रहेको थियो भने स्थानीयवासीले पनि उत्साहजनक साथ दिएका थिए।
अभियानपछि स्थानीयवासीले राहत महसुस गर्दै नगर प्रमुख कुर्मीप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले यस प्रकारका कार्यक्रमले समुदायको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पार्ने बताएका छन्।
नगरपालिकाले सरुवा रोग नियन्त्रणका लागि केवल सरकारी प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै सर्वसाधारणलाई पनि सचेत रहन आग्रह गरेको छ। घरआँगन तथा वरपर सरसफाइ राख्ने, पानी जम्ने स्थानहरू हटाउने, फालिएका टायर, बोतल तथा ड्रमहरू व्यवस्थित गर्ने जस्ता उपाय अपनाउन अनुरोध गरिएको छ।
नगरपालिकाका अनुसार यस्ता साना–साना सावधानी अपनाउँदा लामखुट्टेको वृद्धि रोक्न सकिने र रोगको फैलावट नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्नेछ।

























