प्रदीप कुमार दास,रौतहट ।
चैत २६ गते , बिहीबार ।
रौतहटको मौलापुरस्थित मौलापुर विद्युत कार्यालयले आज विभिन्न सचेतनामूलक कार्यक्रमका साथ विद्युत सुरक्षा दिवस मनाएको छ। हरेक वर्षझैं यस वर्ष पनि चैत २६ गतेका दिन कार्यालयको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यालय प्रमुख ई.उमेश दासको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कर्मचारीहरूको सहभागितामा सचेतनामूलक र्याली निकालिएको थियो। र्यालीका क्रममा “प्रलोभनमा नपरौं, विद्युतको सुरक्षित प्रयोग गरौं”, “सुरक्षाप्रति चासो बढाऔं, दुर्घटनाबाट जोगिऔं”, “सुरक्षा सामग्री साथमा, आफ्नो सुरक्षा आफ्नै हातमा” लगायतका सन्देशमूलक नारा घन्काइएको थियो।
कार्यक्रमका क्रममा प्रमुख ई.दासले विद्युतको सुरक्षित प्रयोगबारे जनचेतना अभिवृद्धि गर्न यस्तो दिवसले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले दैनिक जीवनमा विद्युत प्रयोग गर्दा आवश्यक सावधानी अपनाउन आग्रह गर्दै सम्भावित दुर्घटनाबाट बच्न सबैलाई सचेत रहन आग्रह गरे।




























