प्रदीप दास ,रौतहट ।
चैत १८ गते ,बुधबार ।
रौतहट जिल्लाको गढीमाई नगरपालिका–४ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले स्थानीय विद्यार्थीहरूको शैक्षिक उन्नयनमा उदाहरणीय पहल गर्दै एसईई परीक्षा तयारीका लागि निःशुल्क कोचिङ कक्षा सञ्चालन गरेका छन्। उहाँले आफ्नै निजी लगानीमा तीन महिनासम्म सञ्चालन गरिएको उक्त कोचिङ कक्षामा ३३ जना विद्यार्थी लाभान्वित भएका थिए।
कोचिङ कार्यक्रमको समापनसँगै आज एक औपचारिक बिदाइ समारोह आयोजना गरिएको थियो, जहाँ एसईई परीक्षामा सहभागी हुन लागेका सम्पूर्ण विद्यार्थीहरूलाई शुभकामना दिँदै सम्मानपूर्वक बिदाइ गरिएको हो।
कार्यक्रममा उपस्थित अभिभावक तथा विद्यार्थीहरूले वडाध्यक्ष श्रेष्ठको यो सराहनीय पहलप्रति कृतज्ञता व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए। उनीहरूले यस्तो सहयोगले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि हुनुका साथै परीक्षामा उत्कृष्ट नतिजा ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
यसैबीच, माध्यमिक शिक्षा परीक्षा (एसईई) यही चैत १९ गतेदेखि सुरु हुने तय भएको छ। स्थानीय तहबाट गरिएको यस्तो प्रयासले शिक्षा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ।




























