प्रदीप दास ,रौतहट ।
चैत्र १८ गते ,बुधबार ।
रौतहट जिल्लाको कटहरियास्थित ईलाका प्रहरी कार्यालय परिसरमा एक विशेष कार्यक्रमका बीच प्रहरी नायब निरीक्षक धर्मेन्द्र पौडेलको सरुवा भई जिल्ला प्रहरी कार्यालय गौरमा कार्यभार सम्हाल्न जानुहुँदा बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले प्रहरी नायब निरीक्षक पौडेलले आफ्नो कार्यकालभर इमान्दारी, कर्तव्यनिष्ठा र उच्च जिम्मेवारीबोधका साथ काम गर्दै शान्ति सुरक्षा मजबुत बनाउन तथा सर्वसाधारणको हितमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै उहाँको प्रशंसा गरेका थिए। साथै, नयाँ कार्यस्थलमा पनि उहाँले अझ उत्कृष्ट कार्य सम्पादन गर्नुहुने विश्वास व्यक्त गरिएको थियो।

सोही अवसरमा ईलाका प्रहरी कार्यालय कटहरियाको नयाँ प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्न आउनुभएका प्रहरी नायब निरीक्षक मोहन सिंह आलेलाई हार्दिक स्वागत गरिएको छ। सहभागीहरूले उहाँको नेतृत्वमा कार्यालयले थप प्रभावकारी, सेवामुखी र जनमैत्री काम गर्ने अपेक्षा व्यक्त गरेका छन्।

उक्त कार्यक्रम स्थानीय समाजसेवी, बुद्धिजीवी, युवा, व्यापारी तथा सरोकारवाला व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा युवा नेता तथा मेयर प्रत्यासी नसरुदिन अंसारी, वडाध्यक्ष चन्दन कुशवाहा, जोगिन्दर साह, पत्रकार सञ्जय मिश्र लगायतले सरुवा भएर जानु भएका पौडेललाई सफल भविष्यको शुभकामना व्यक्त गर्नुका साथै नयाँ प्रमुख आलेको कार्यकाल सफल रहोस् भन्ने कामना गरेका थिए।

























