प्रदीप सम्राट, रौतहट
फाल्गुन १६ गते, शनिबार
रौतहट क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्य पदका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार रामजी साहले चुनावी अभियानलाई अझ सशक्त बनाउँदै मतदातामाझ प्रत्यक्ष पुग्ने रणनीतिलाई प्राथमिकता दिएका छन्। शनिबार उहाँले चन्द्रपुर नगरपालिका–५ र ६ अन्तर्गतका विभिन्न टोल–बस्तीमा घरदैलो तथा भेटघाट कार्यक्रम सञ्चालन गर्नुभयो।

कार्यक्रमअन्तर्गत मोतियाहीमा आयोजित अन्तरक्रिया कार्यक्रममा साहले स्थानीयवासीसँग खुला संवाद गर्दै क्षेत्रको विकासका लागि आफ्नो कार्ययोजना सार्वजनिक गर्नुभयो। उहाँले सडक तथा अन्य पूर्वाधार विस्तार, सामुदायिक विद्यालयको गुणस्तर सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार र युवामुखी रोजगारी कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो।
भेटघाट कार्यक्रममा उल्लेख्य संख्यामा स्थानीयको सहभागिता देखिएको थियो। सहभागी मतदाताहरूले आगामी फाल्गुन २१ गते हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसपटक सक्षम र परिणाममुखी नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका थिए। उनीहरूको भनाइमा अब क्षेत्रले स्पष्ट योजना, पारदर्शी कार्यशैली र विकासप्रतिको दृढ अठोट भएका प्रतिनिधिको आवश्यकता महसुस गरिरहेको छ।

कार्यक्रमका क्रममा उम्मेदवार साहले प्राप्त जनसमर्थनप्रति आभार व्यक्त गर्दै जनविश्वासलाई नतिजामा रूपान्तरण गर्ने प्रतिबद्धता दोहोर्याउनुभयो। “जनताको चाहना र अपेक्षालाई केन्द्रमा राखेर काम गर्नेछु,” उहाँले भन्नुभयो।
रौतहट–४ मा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल तथा उम्मेदवारहरूको घरदैलो अभियान थप सक्रिय बन्दै गएको छ। गाउँ–टोलमा उम्मेदवारहरूको उपस्थिति बढेसँगै चुनावी माहोल दिनप्रतिदिन उत्साहित र प्रतिस्पर्धात्मक बन्दै गएको देखिन्छ।

























