शिलादीप खबर न्युजडेस्क,
पुस ०२ गते, बुधबार ।
रौतहट -जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जिल्ला कार्य समिति रौतहटले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रतिनिधिसभा सदस्य पदका लागि रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट युवानेता राजकुमार दास तत्मालाई प्रत्यक्षतर्फको उम्मेदवारका रूपमा सर्वसम्मत रूपमा सिफारिस गरेको छ।
मंगलबार सम्पन्न जसपा नेपाल रौतहट क्षेत्र नं. ४ को क्षेत्रीय समन्वय समितिको बैठकले पार्टीका पूर्व केन्द्रीय सल्लाहकार समिति सदस्य तथा मधेश प्रदेश अधिवेशनका उपाध्यक्ष पदका उम्मेदवार समेत रहेका चर्चित जुझारु युवानेता दासलाई २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एकल सिफारिस गर्ने निर्णय गरेको हो।
रौतहटको गरुडा नगरपालिका–९, रघुनाथपुर टोल शिशवा धमौरा निवासी राजकुमार दास तत्मालाई जसपा नेपालले पहिलो पटक प्रतिनिधिसभा निर्वाचनका लागि अघि सारेको हो। दास राष्ट्रिय तत्मा समाज नेपाल स्वजातीय संगठनका पूर्व राष्ट्रिय अध्यक्ष समेत हुन्। साथै, उनी मधेश प्रदेश सरकार अन्तर्गतको दलित विकास समितिको सदस्यका रूपमा समेत कार्य गरिसकेका अनुभवी नेता हुन्।
स्पष्ट विचार, सुदृढ संगठनात्मक क्षमता र प्रभावशाली वक्तृत्व कलाका धनी नेता दास लामो समयदेखि पार्टी संगठन विस्तार, सामाजिक न्याय, दलित तथा सिमान्तकृत समुदायका हक–अधिकार, मुस्लिम, आदिवासी, जनजाति तथा थारु समुदायको अधिकार र समावेशी लोकतन्त्रको पक्षमा सक्रिय रहँदै विभिन्न आन्दोलनको नेतृत्व गर्दै आएका छन्।
जसपा नेपालका जिल्ला अध्यक्ष राजीव रञ्जन यादवका अनुसार, राजकुमार दास तत्मा राजनीतिमा स्पष्ट दृष्टिकोण, बलियो संगठन क्षमता र जनताप्रतिको गहिरो प्रतिबद्धता भएका नेता भएकाले पार्टीले उनमाथि भरोसा गरेको हो। उनका अनुसार दासको उम्मेदवारीले पार्टीभित्र मात्र होइन, आम जनतामाझ पनि सकारात्मक सन्देश प्रवाह गरेको छ।
जसपा नेपालका स्थानीय तथा जिल्ला तहका नेताहरूले नेता दासको नेतृत्वले लोकतान्त्रिक मूल्य, सुशासन र समावेशी विकासलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। रौतहट निर्वाचन क्षेत्र नं. ४ का जनताको समस्या, आवश्यकता र आकांक्षालाई संसदमा प्रभावकारी रूपमा उठाउन सक्ने क्षमता दासमा रहेको भन्दै पार्टीले उनलाई उपयुक्त उम्मेदवारका रूपमा छनोट गरेको जनाएको छ।
रौतहट क्षेत्र नं. ४ को विगतको निर्वाचन परिणाम हेर्दा, पछिल्लो चुनावमा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेस विजयी भएको थियो भने प्रतिद्वन्द्वीमा नेकपा एमाले रहेको थियो। यता प्रदेशसभा तर्फ क्षेत्र नं. ४ (ख) बाट जसपा नेपालका उम्मेदवार निर्वाचित छन् भने ४ (क) बाट तत्कालीन माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए। वर्तमान अवस्थामा सबै दलहरू आ–आफ्नै तर्फबाट चुनावी मैदानमा उत्रने सम्भावना रहेकाले यसले मधेश आन्दोलनका योद्धा तथा प्रखर वक्ता युवानेता राजकुमार दास तत्मालाई लाभ पुग्ने विश्लेषण गरिएको छ।
दलित तथा सिमान्तकृत समुदायको बुलन्द आवाजका रूपमा परिचित राजकुमार दास तत्मा रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट प्रत्यक्ष निर्वाचन लड्ने जसपा नेपालको हालसम्मकै बलियो उम्मेदवार रहेको पार्टी नेताहरूको दाबी छ।
यसैबीच, राष्ट्रिय तत्मा समाज नेपाल रौतहट जिल्ला कार्य समितिले नेता दासलाई उम्मेदवार सिफारिस गरेकोमा जसपा नेपालका शीर्ष नेतृत्वप्रति धन्यवाद ज्ञापन गरेको छ। स्वजातीय संगठनले दलित, सिमान्तकृत तथा अल्पसंख्यक समुदायका हक–अधिकारका लागि दासले गर्दै आएको संघर्ष, संगठन निर्माणमा देखाएको योगदानको उचित मूल्यांकन भएको भन्दै खुशी व्यक्त गरेको हो।
नेता दासको उम्मेदवारीले रौतहट मात्र नभई समग्र मधेश प्रदेशभर दलित तथा सिमान्तकृत समुदायमा राजनीतिक प्रतिनिधित्व र आशाको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। पार्टी कार्यकर्ताहरूले पनि उनको उम्मेदवारीलाई जित सुनिश्चित गर्ने गरी संगठन परिचालन गर्ने प्रतिबद्धता जनाएका छन्।
लामो समयको संघर्षपछि पहिलो पटक प्रत्यक्ष प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत रूपमा एकल उम्मेदवार चयन भएपछि यस महत्वपूर्ण जिम्मेवारीका लागि राजकुमार दास तत्मालाई विभिन्न संघ–संस्था, पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूले हार्दिक बधाई तथा सफल निर्वाचन अभियानको शुभकामना व्यक्त गरेका छन्।
























