प्रदीप सम्राट, रौतहट ,
कार्तिक २ गते , आइतबार ।
रौतहट क्षेत्र नं. ४ अन्तर्गत वृन्दावन नगरपालिका–६ हर्षाहामा नेकपा (एकीकृत समाजवादी) रौतहट क्षेत्र नं. ४ को आयोजनामा र वृन्दावन नगरपालिकाको विशेष सहयोगमा आयोजित शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री क. माधवकुमार नेपाल हुनुहुन्थ्यो। कार्यक्रममा केन्द्रीय उपमहासचिव क. रामकुमार भट्टराई, मधेस प्रदेशका नवनियुक्त मन्त्री क. कनिस पटेल, वृन्दावन नगरपालिकाका नगरप्रमुख विनोद प्रसाद कुर्मी, तथा केन्द्रीय सदस्य महेन्द्र चौलागाईं लगायतका विशिष्ट अतिथिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो।
सांस्कृतिक वातावरणमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, पार्टीका नेता–कार्यकर्ता, बुद्धिजीवी, युवाहरू र शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा मन्त्री क. कनिस पटेल ले युवाहरूको प्रतिनिधित्व गर्दै उत्साहपूर्ण सम्बोधन गर्नुभयो। उहाँले मधेस प्रदेशमा युवाहरूको सहभागिता र प्रतिनिधित्व बढ्दै गएको बताउँदै त्यसलाई व्यवहारिक रूपमा परिणाममुखी बनाउन सबैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी प्रमुख अतिथि पूर्व प्रधानमन्त्री नेपाल ले आफ्नो सम्बोधनमा जेन्जी (GenZ) पुस्ताका जायज मागलाई समर्थन गर्दै उनीहरूको हकहितका आवाजहरूलाई पार्टीले सधैं प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो। उहाँले जेन्जीको नाममा अपराधजन्य क्रियाकलापमा संलग्न हुनेहरूप्रति कडा असहमति जनाउँदै त्यसका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार जिम्मेवार रहेको उल्लेख गर्नुभयो।
नेता नेपालले राष्ट्र, राष्ट्रियता र जनजीविकाको पक्षमा नेकपा (एकीकृत समाजवादी) सधैं अग्रपङ्क्तिमा उभिएको बताउँदै पार्टीभित्र एकता, सहकार्य र जनताप्रतिको उत्तरदायित्वलाई अझ सुदृढ बनाउन सबैलाई आह्वान गर्नुभयो। उहाँले शुभ दीपावली र छठ पर्वले ल्याउने आत्मीयता र एकताको सन्देशमार्फत समाजमा शान्ति, समृद्धि र खुशी फैलियोस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभयो।
कार्यक्रमको अन्त्यमा सबै सहभागीहरूले दीपावली र छठ पर्वले ल्याउने उज्यालो र आस्थाले सम्पूर्ण परिवारमा सुख, शान्ति र समृद्धि भर्न सकोस् भन्ने सामूहिक शुभकामना व्यक्त गरेका थिए।



























