प्रदीप सम्राट,रौतहट ।
फागुन १८ गते,सोमबार ।
हिन्दू धर्मावलम्बीहरूको रंग, उमङ्ग र आपसी सद्भावको महान पर्व होलीको अवसरमा रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका अन्तर्गत गंगा पिपरामा भव्य होली मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम गाउँपालिकाका अध्यक्ष शम्भु कुमार सिंहको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो। कार्यक्रममा पालिका उपाध्यक्ष, वडाध्यक्षहरू, विभिन्न जनप्रतिनिधिहरू, कर्मचारी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

होली पर्वको अवसरमा आयोजित उक्त कार्यक्रममा उपस्थित सबैले एक–अर्कालाई अबिर र रंग लगाउँदै आत्मीयता साटासाट गरेका थिए। कार्यक्रमस्थल रंगीन अबिरले झकिझकाउ बनेको थियो भने सहभागिहरूबीच आपसी सद्भाव, एकता र भाइचाराको सन्देश प्रवाह गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिंहले होली पर्वले समाजमा रहेका आपसी मनमुटाव, द्वेष र असमझदारीलाई अन्त्य गरी मेलमिलाप र सहकार्यको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो। उनले रंगहरूको यो पर्वले सम्पूर्ण गाउँपालिकावासीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै सबैमा संयमता र सभ्यतापूर्वक पर्व मनाउन आग्रह गरे।

कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो, जसले वातावरणलाई थप उल्लासमय बनाएको थियो। सहभागीहरूले एकआपसमा शुभकामना आदान–प्रदान गर्दै “हैप्पी होली २०८२” का नारासहित उत्सवलाई भव्यताका साथ सम्पन्न गरेका थिए।

यस अवसरमा सम्पूर्ण गाउँपालिका बासिन्दा तथा देश–विदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ।





























