शिलादीप अनलाईन खबर,
कार्तिक २ गते, आईतबार ।
रौतहट । रौतहटको सदरमुकाम गौरस्थित बीपी चोकमा निर्माण गरिएको आकर्षक घण्टाघरको आज एक विशेष समारोहका बीच गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले औपचारिक रूपमा उद्घाटन गर्नुभएको छ।
नगर प्रमुख साहले रिबन काटेर उद्घाटनसँगै घण्टाघरको मध्य भागमा स्थापित माता दुर्गाको प्रतिमामा माला र अबिर चढाउँदै नगरवासीको शान्ति, एकता र समृद्धिको कामना गर्नुभएको थियो।

नगरपालिकाको आर्थिक लगानीमा निर्माण गरिएको उक्त घण्टाघर निर्माणका लागि गौर नगरपालिकाले राष्ट्र निर्माण सेवा राजदेवी कम्पनीसँग १ करोड ५३ लाख ६० हजार ६१६ रुपैयाँमा सम्झौता गरेको थियो। सो कम्पनीले निर्माण कार्य सम्पन्न गरी २०८१ पुस ३० गते नगरपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो।
घण्टाघरको ऐतिहासिक पृष्ठभूमि पनि चाखलाग्दो रहेको छ। प्रारम्भमा यहाँ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको सालिक स्थापना गरिएको थियो। तर जेनजी आन्दोलनका क्रममा उक्त सालिक भत्किएपछि त्यस स्थानमा माता दुर्गाको प्रतिमा स्थापना गरी पूजा–पाठ थालिएको हो।
उद्घाटन समारोहमा बोल्दै मेयर साहले गौरको घण्टाघरलाई “नगरवासीको साझा सम्पत्ति” भन्दै यसको संरक्षण र सरसफाइमा सबैको जिम्मेवारी हुने बताउनुभयो। उहाँले गौरलाई सुन्दर, आकर्षक र व्यवस्थित शहरका रूपमा विकास गर्न नगरपालिकाले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै, “विकासका अभियानमा सबै पक्षको सहकार्य अपरिहार्य छ,” भन्नुभयो।
घण्टाघर उद्घाटनसँगै गौर शहरको सौन्दर्यमा नयाँ आकर्षण थपिएको छ भने स्थानीयवासीहरूमा पनि उत्साह र खुशीको माहोल देखिएको छ।
























