रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४, पश्चिम लच्का नजिक बुधबार बिहान यात्रुवाहक बसमा आगलागी भएको छ। आगलागीबाट बस पूर्णरूपमा जलेर नष्ट हुँदा करिब ३५ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको बताइएको छ।
प्रहरीका अनुसार काठमाडौंबाट चन्द्रपुरतर्फ आउँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा बिहान करिब ७ः२० बजे अचानक आगो लागेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा ब्याट्रीको तार सर्ट भएर आगलागी भएको देखिएको छ।
बसको ब्रेक जाम भएपछि तार सर्ट भई आगो लागेको अनुमान गरिएको छ। गाडीमा रहेका यात्रुहरू समयमै बाहिर निस्कन सफल भएकाले कुनै मानवीय क्षति हुन पाएन।
घटनाको जानकारी पाएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। स्थानीयवासी र प्रहरीको सहयोगमा बारुण यन्त्र प्रयोग गरी आगो करिब सवा ८ बजे नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
आगलागीका कारण पूर्व–पश्चिम राजमार्ग केही समयका लागि अवरुद्ध भए पनि अहिले सवारीसाधनको आवागमन सामान्य बनेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
























