शिलादीप अनलाईन खबर,
चैत १६ गते ,सोमबार ।
रौतहट जिल्ला प्रहरी कार्यालयले अवैध रूपमा ल्याइँदै गरेको बोइलर कुखुरा, बोलेरो गाडी तथा दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
सोमबार बिहान करिब ६:५० बजे इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरी गस्ती टोलीले रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नं. ३, मत्सरी क्षेत्रमा शंका लागी ना ५ च ३५६५ नम्बरको बोलेरो गाडी रोकी चेकजाँच गरेको थियो। जाँचका क्रममा उक्त गाडीमा अवैध रूपमा चोरी पैठारी गरी ल्याइएको बोइलर कुखुरा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गाडीमा करिब २५० वटा (अन्दाजी ७५० केजी) बोइलर कुखुरा लोड गरिएको थियो, जसको अनुमानित मूल्य २ लाख २५ हजार रुपैयाँ रहेको छ। साथै, बोलेरो गाडीको मूल्य करिब १५ लाख रुपैयाँ आँकलन गरिएको छ। बरामद सामग्री र सवारी साधनसहित कुल मूल्य १७ लाख २५ हजार रुपैयाँ बराबर रहेको छ।
घटनामा संलग्न रहेको आरोपमा रौतहटको गरुडा नगरपालिका वडा नं. ९ विर्ताका करिब २६ वर्षीय शेख अन्सारु हक र शेख अरसादलाई नियन्त्रणमा लिइएको छ।
प्रहरीले बरामद कुखुरा, गाडी तथा पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको जनाएको छ।

























