काठमाडौँ — प्रतिनिधि सभाकी उपसभामुख रुविकुमारी ठाकुर ले विवाह संस्कारलाई दहेजमुक्त बनाउन निमन्त्रणापत्रमै स्पष्ट सन्देश समावेश गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उनले हाल आफूले प्राप्त गर्ने अधिकांश विवाहका निमन्त्रणापत्रहरूमा ‘दहेज मुक्त विवाह’ सम्बन्धी उल्लेख नदेखिएकोमा चिन्ता व्यक्त गरिन्। उनका अनुसार यसले नेपाली समाज अझै दाइजो प्रथाबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गर्दछ।
उपसभामुख ठाकुरले दाइजो प्रथालाई केवल लेनदेनको विषय मात्र नभई समग्र सामाजिक सोच र व्यवहारसँग जोडिएको समस्या भएको उल्लेख गरिन्। उनले दाइजो लिनु–दिनु मात्र होइन, दाइजोमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु समेत सामाजिक रूपमा अस्वीकार्य र कानुनी दृष्टिले दण्डनीय अभ्यास भएको स्पष्ट पारिन्।
उनका अनुसार दाइजो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि गम्भीर असर पार्ने भएकाले यसलाई निर्मूल पार्न सबै पक्षको सचेत र सक्रिय भूमिका आवश्यक छ।
यसै सन्दर्भमा उनले दाइजो लेनदेन हुने विवाहमा आफू सहभागी नहुने अडान दोहोर्याउँदै सबैलाई समानता र सम्मानमा आधारित, सुसंस्कृत तथा दहेजमुक्त विवाह अभ्यासतर्फ अग्रसर हुन आह्वान गरिन्।
त्यसैगरी, विवाह निमन्त्रणापत्रमै ‘दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो’ भन्ने सन्देश समावेश गरी पठाउन समेत उनले सबैमा आग्रह गरेकी छन्।




























