शिलादीप अनलाईन खबर,
चैत १४ गते , शनिबार।
काठमाडौँ — ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएकोमा हार्दिक बधाई व्यक्त गर्दै नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्री शाहलाई पठाएको बधाई सन्देशमार्फत चिनियाँ प्रधानमन्त्री लीले द्विपक्षीय सहकार्यलाई थप उचाइमा पुर्याउने इच्छा व्यक्त गरेका हुन्। उनले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रूपमा गहिरो र विश्वासमा आधारित रहेको उल्लेख गर्दै दुई देश पहाड र नदीले जोडिएका परम्परागत छिमेकी राष्ट्र भएको बताएका छन्।
सन्देशमा लीले विगत ७१ वर्षदेखि ‘शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त’का आधारमा दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध निरन्तर विकास हुँदै आएको स्मरण गराएका छन्। उनले नेपाल सरकारको सुशासन प्रवर्द्धन गर्ने प्रयासप्रति चीनको पूर्ण समर्थन रहने जनाउँदै नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मानमा चीन दृढ रहेको बताएका छन्।
चीनको दूतावास काठमाडौंका अनुसार सन्देशमा प्रधानमन्त्री लीले बेल्ट एन्ड रोड इनिसिएटिभअन्तर्गत सहकार्यलाई अघि बढाउँदै विभिन्न क्षेत्रमा उच्चस्तरीय साझेदारी विस्तार गर्ने लक्ष्य व्यक्त गरेका छन्।
उनले नेपाल र चीनबीचको मैत्रीपूर्ण रणनीतिक सहकार्यलाई विकास र समृद्धिको साझा आधारका रूपमा अझ मजबुत बनाउने प्रतिबद्धता पनि दोहोर्याएका छन्।
























