रौतहट, चैत १२ गते बिहीबार ।
शिलादीप खबर न्युज डेस्क ।
रौतहट जिल्लाको राजपुर नगरपालिका–१, पिपरा भगवानपुर टोलस्थित भित्री सडकमा बिहीबार भएको ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अपराह्न करिब २:४५ बजे अमेरी मस्जिदबाट कब्रिस्तानतर्फ जाँदै गरेको ना.६ त ५४४० नम्बरको ट्याक्टर अचानक अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा भारतको मोतिहारी जिल्ला, पडरी गाउँ घर भई हाल मामाको घर राजपुर–१ मा बस्दै आएका करिब ८ वर्षीय शेख सादिक गम्भीर घाइते भएका थिए। स्थानीय शेख वजिलको घरमा खेलिरहेका बेला ट्याक्टरको चपेटामा परेका उनलाई टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
घाइते सादिकलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल, गौर पुर्याइएको थियो। तर, चिकित्सकले जाँच गर्दा अपराह्न करिब ३:१५ बजे मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ। दुर्घटनामा संलग्न ट्याक्टर चालक भने घटनापछि फरार रहेका छन् र उनको पहिचान अझै खुल्न सकेको छैन। ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी कार्य तीव्र पारिएको जनाएको छ।

























