प्रदीप सम्राट, रौतहट ।
चैत ८ गते , आईतबार ।
रौतहट । मिटरब्याजमार्फत आर्थिक शोषण गरेको आरोपमा चन्द्रपुर नगरपालिका–४ निवासी रामबाबु प्रसाद कलवारविरुद्ध गम्भीर उजुरी सार्वजनिक गरिएको छ। मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन, नेपाल (भोजपुरा कमाण्ड) ले आइतबार पत्रकार सम्मेलन गरी उक्त प्रकरण बाहिर ल्याएको हो।
आन्दोलनको अध्यक्ष सोनाफी चौधरीले कलवारले वर्षौंदेखि किसान, मजदुर तथा साना व्यवसायीलाई लक्षित गर्दै अत्यधिक ब्याजदरमा ऋण प्रवाह गर्दै आएको आरोप लगाए । उनका अनुसार ऋण लिनेहरूलाई चक्रवृद्धि ब्याजको जालमा पारेर आर्थिक रूपमा कमजोर बनाउने, त्यसपछि घरजग्गा कब्जा गर्ने तथा फर्जी कागजातको सहायताले सम्पत्ति आफ्नो नाममा सार्ने कार्य हुँदै आएको छ।

पत्रकार सम्मेलनमा स्थानीय पीडितहरूले आफ्ना भोगाइ सार्वजनिक गरेका थिए। चन्द्रपुर–४ का अर्जुन प्रसाद हएलले मिटरब्याजकै कारण आफू गम्भीर आर्थिक संकटमा परेको बताए भने नारायण प्रसाद घिमिरेले आफ्नो सम्पत्ति गुमाउनुपरेको पीडा सुनाए। कार्यक्रममा पर्सा, बारा, रौतहट र सर्लाहीका अन्य पीडितहरूले समेत यस्तै समस्या भोगिरहेको बताएका थिए।
आन्दोलनका भोजपुरा कमाण्ड इन्चार्ज शिवशंकर महतोले देशभर हजारौं नागरिक मिटरब्याजको जालमा परेको उल्लेख गर्दै सम्बन्धित निकायले प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाए। उनले जिल्ला प्रशासन कार्यालय र प्रहरीमा उजुरी दिँदा पनि प्रभाव र पहुँचका कारण दोषीमाथि कारबाही हुन नसकेको दाबी गरे।
पीडितहरूले निष्पक्ष छानबिन, दोषीमाथि कडा कानुनी कारबाही, कब्जा गरिएको सम्पत्ति फिर्ता तथा न्यायको सुनिश्चितताका लागि सरकारसँग माग गरेका छन्। उनीहरूले अदालत र प्रशासनबाट अपेक्षित न्याय नपाउँदा निराशा बढ्दै गएको पनि बताएका छन्।
आन्दोलनले मिटरब्याजलाई गम्भीर सामाजिक तथा आर्थिक शोषणको रूपमा व्याख्या गर्दै समस्या समाधानमा ढिलाइ भए देशव्यापी रूपमा आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ।


























