रौतहट, फागुन १५ गते ।
शिलादीप अनलाईन खबर डेस्क ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रौतहट ले कडा निर्णयहरू सार्वजनिक गरेको छ।
कार्यालयले शुक्रबार जारी गरेको सूचनाअनुसार आजैदेखि रौतहट जिल्लाभर मादक पदार्थको बिक्री–वितरण तथा सेवनमा पूर्णरूपमा रोक लगाइएको छ। निर्वाचन अवधिभर सम्भावित सुरक्षा चुनौतीलाई न्यूनीकरण गर्न तथा होली पर्वका कारण उत्पन्न हुन सक्ने अवाञ्छित गतिविधिलाई नियन्त्रणमा राख्न उक्त निर्णय गरिएको जनाइएको छ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल ले उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णय र निर्वाचन आयोग को गत बुधबार प्राप्त पत्राचारको आधारमा यस्तो कदम चालिएको जानकारी दिनुभयो। उहाँका अनुसार मतदान मितिभन्दा सात दिन अगाडिदेखि अन्तिम मत परिणाम घोषणा नभएसम्म मदिराजन्य पदार्थको कारोबार र सेवन पूर्णरूपमा निषेध रहनेछ।
प्रजिअ भुसालले सूचनाको अवज्ञा गर्दै मदिरा बिक्री, वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिनुभएको छ।
यसैबीच, निर्वाचन सुरक्षालाई थप सुदृढ बनाउन जिल्ला प्रशासन कार्यालयले भारतसँग जोडिएका रौतहटका सम्पूर्ण सीमा नाका अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। जारी सूचनाअनुसार फागुन १८ गते राति १० बजेदेखि फागुन २१ गते राति १० बजेसम्म तीन दिनका लागि सीमा आवतजावत बन्द रहनेछ।
प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार खुला सिमानाका कारण हुन सक्ने अवाञ्छित चलखेल रोक्न र निर्वाचनलाई मर्यादित तथा भयरहित वातावरणमा सम्पन्न गराउन यो निर्णय गरिएको हो।



























