शिलादीप खबर न्युज डेस्क
फाल्गुन १५, शुक्रबार
रौतहट क्षेत्र नम्बर–४ मा चुनावी सरगर्मी दिनप्रतिदिन तीव्र बन्दै गएको छ। यही क्रममै शुक्रबार गढीमाई नगरपालिका–अन्तर्गत बालुवा मदनपुरमा आयोजित घरदैलो तथा जनसम्पर्क कार्यक्रम एमालेका लागि उत्साहजनक बनेको छ। कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गर्दै सयौँ नेता तथा कार्यकर्ता औपचारिक रूपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामजी साह स्वयं उपस्थित भई नवप्रवेशीहरूलाई टीका, माला र दोसल्ला ओढाएर स्वागत गरेका थिए। उनले पार्टी प्रवेश गर्नेहरूलाई संगठन सुदृढीकरण र समृद्ध क्षेत्र निर्माणको अभियानमा सक्रिय भूमिका खेल्न आग्रह गरे।

स्थानीय तह र वडास्तरमा सक्रिय रहेका नेता–कार्यकर्ताहरू नेपाली काँग्रेस, जसपा, नेकपा तथा राष्ट्रिय स्वतन्त्र पार्टी लगायत विभिन्न दल त्याग्दै एमालेमा समाहित भएको जनाइएको छ। सहभागीहरूले मुलुकमा राजनीतिक स्थायित्व, विकास र स्पष्ट कार्यदिशा आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि एमाले उपयुक्त विकल्प भएको दाबी गरेका थिए।
नवप्रवेशीहरूको भनाइ उद्धृत गर्दै आयोजकहरूले जनाएअनुसार क्षेत्र नं. ४ मा विकास निर्माणका अधुरा काम पूरा गर्न, रोजगारी सिर्जना गर्न र युवालाई अवसर दिन सक्षम नेतृत्व आवश्यक भएकाले आफूहरूले एमाले रोजेको बताएका छन्।

बालुवा मदनपुरमा आयोजित कार्यक्रम केवल औपचारिक सभा मात्र नभई घरदैलो अभियानसँग जोडिएको थियो। उम्मेदवार साहसहित नेता–कार्यकर्ताहरू घर–घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा जुटेका थिए।
संवादका क्रममा उनले सडक, खानेपानी, सिँचाइ, शिक्षा र स्वास्थ्य पूर्वाधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्याए। साथै कृषि आधुनिकीकरण, साना तथा घरेलु उद्योग प्रवर्द्धन र युवामुखी कार्यक्रममार्फत स्थानीय अर्थतन्त्र सुदृढ गर्ने योजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति देखिएको थियो। विशेषगरी युवावर्ग र महिला मतदाताको सक्रिय सहभागिताले चुनावी माहोललाई थप उत्साहित बनाएको आयोजकहरूको दाबी छ।
सहभागीहरूले क्षेत्र नम्बर–४ मा एमालेप्रति आकर्षण बढ्दै गएको र उम्मेदवार साहको पक्षमा सकारात्मक जनमत निर्माण भइरहेको प्रतिक्रिया दिएका छन्। कार्यक्रममा नाराबाजी र समर्थनका अभिव्यक्तिले बालुवा मदनपुर क्षेत्र दिनभर चुनावी रौनकताले भरिएको थियो।
कार्यक्रमका वक्ताहरूले देशमा दीर्घकालीन स्थायित्व, सुशासन र समृद्धिका लागि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन निर्णायक हुने बताए। उनीहरूले सूर्य चिन्हमा मतदान गरी रामजी साह लाई अत्यधिक मतले विजयी गराउन अपिल गरेका छन्।
उम्मेदवार साहले आफ्नो सम्बोधनमा भने, “रौतहट–४ लाई विकास र अवसरको नमुना क्षेत्र बनाउने हाम्रो संकल्प हो। यहाँको जनताको विश्वासलाई सम्मान गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासमा परिणाममुखी काम गर्नेछु।”


























