शिलादीप खबर न्युज डेस्क
फाल्गुन १२, मंगलबार
रौतहट क्षेत्र नम्बर–४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामजी साहप्रति जनसमर्थन दिनप्रतिदिन सुदृढ बन्दै गएको छ। मंगलबार चन्द्रपुर नगरपालिका–९, चेतनगरमा सम्पन्न घरदैलो तथा जनसम्पर्क कार्यक्रमले चुनावी माहोललाई थप तताएको मात्र होइन, वामपन्थी एकताको स्पष्ट सन्देश पनि दिएको छ।
चेतनगरमा आयोजित अभियानका क्रममा उम्मेदवार साहसहित नेता–कार्यकर्ताहरूले घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए। उनीहरूले विकास निर्माणका ठोस योजना, रोजगारीका अवसर सिर्जना, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र पूर्वाधार विस्तारका विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरेका थिए।
स्थानीयवासीसँगको संवादमा समृद्ध क्षेत्र निर्माणको प्रतिबद्धता पुनः दोहोर्याइएको थियो।कार्यक्रममा देखिएको जनसहभागिता र उत्साहले उम्मेदवार साहप्रति मतदाताको सकारात्मक झुकाव बढ्दै गएको संकेत गरेको सहभागीहरूले बताएका छन्। विशेषगरी युवावर्ग र महिला मतदाताको सक्रिय उपस्थिति उल्लेखनीय देखिएको थियो।
नेता–कार्यकर्ताहरूले देशमा स्थायित्व, समृद्धि र “समृद्ध नेपाल, सुखी नेपाली” को लक्ष्य हासिल गर्न आगामी फागुन २१ गते हुने निर्वाचनमा सूर्य छापमा मतदान गरी रामजी साहलाई अत्यधिक मतले विजयी गराउन अपिल गरेका छन्। उनीहरूका अनुसार क्षेत्र नम्बर–४ मा देखिएको एकता र जनलहरले आगामी निर्वाचन परिणाममा निर्णायक प्रभाव पार्ने विश्वास लिइएको छ।
























