प्रदीप सम्राट,रौतहट ।
पुस ०३ गते, बिहीबार ।
रौतहट जिल्लाको मध्य भेगमा अवस्थित गरुडा नगरपालिकास्थित अनुश पार्टी प्यालेस मा अन्तरधार्मिक सञ्जाललाई संस्थागत विकासतर्फ अघि बढाउने उद्देश्यले एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। जिल्लामा आपसी सद्भाव, सहअस्तित्व र धार्मिक सहिष्णुतालाई मजबुत बनाउने लक्ष्यका साथ आयोजना गरिएको उक्त कार्यशालामा विभिन्न धर्मका अगुवा तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यशालामा मुस्लिम समुदायका मौलाना, हिन्दू धर्मका पण्डित, ख्रिस्टियन समुदायका पास्टरसहित अन्य धार्मिक अगुवाहरूको सक्रिय सहभागिता देखिएको थियो। कार्यक्रममा सहभागी धर्मगुरुहरूले समाजमा बढ्दै गएको असहिष्णुता, गलत बुझाइ र विभाजनको प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै आपसी संवाद, सहकार्य र संस्थागत पहलमार्फत शान्ति र सद्भाव कायम गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको सहजीकरण अधिवक्ता सोनेलाल पासवान तथा मोतिउर रहमान ले गर्नुभएको थियो। सहजीकरणका क्रममा अन्तरधार्मिक सञ्जालको आवश्यकता, यसको उद्देश्य, संरचना, कार्यक्षेत्र तथा भावी रणनीतिबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले अन्तरधार्मिक सञ्जाललाई केवल छलफलको थलोमा सीमित नराखी व्यवहारिक रूपमा समाजमा सकारात्मक परिवर्तन ल्याउने प्लेटफर्मका रूपमा विकास गर्नुपर्ने धारणा राखेका थिए।
कार्यशालामा विशेष गरी धार्मिक सहिष्णुता, मानव अधिकार, सामाजिक न्याय, द्वन्द्व समाधान, युवाहरूको सहभागिता तथा स्थानीय तहमा अन्तरधार्मिक सहकार्यका सम्भावनाहरूबारे गहन विमर्श गरिएको थियो। विभिन्न धर्मका प्रतिनिधिहरूले आ–आफ्ना अनुभव साझा गर्दै धार्मिक विविधतालाई कमजोरी होइन, समाजको शक्ति बनाउनु पर्नेमा एकमत जनाएका थिए।
कार्यक्रमपश्चात अन्तरधार्मिक सञ्जाल रौतहटलाई औपचारिक र संस्थागत रूपमा अघि बढाउने विषयमा महत्वपूर्ण निर्णय भएको छ। सञ्जालका जिल्ला कार्य समिति अध्यक्ष अनिसुर रहमान ले अन्तरधार्मिक सञ्जाल रौतहटलाई निरन नेपाल को आधिकारिक उपशाखाका रूपमा दर्ता गर्ने प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संस्थागत दर्तापछि सञ्जालका गतिविधिहरू अझ व्यवस्थित, प्रभावकारी र दीर्घकालीन हुने विश्वास व्यक्त गर्नुभयो।
अध्यक्ष रहमानका अनुसार दर्तापछि सञ्जालले जिल्लाभर अन्तरधार्मिक संवाद, शान्ति निर्माण, सामाजिक सद्भाव प्रवर्द्धन, हिंसा तथा विभेदविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। साथै, स्थानीय सरकार, नागरिक समाज र अन्य सरोकारवालासँग सहकार्य गर्दै रौतहटलाई धार्मिक सद्भावको उदाहरणीय जिल्ला बनाउने लक्ष्य लिइएको उहाँले बताउनुभयो।
कार्यशालाको अन्त्यमा सहभागीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, जिल्लाका सबै पालिकासम्म अन्तरधार्मिक सञ्जालको पहुँच विस्तार गर्नुपर्ने तथा आगामी दिनमा संयुक्त कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
























