शिलादीप अनलाइन खबर ,
असोज २४ ,शुक्रबार ।
झापाको दमक नगरपालिका–७ पशुहाटस्थित नालीभित्र एक पुरुषको शव फेला परेको छ ।
स्थानीय बासिन्दाले कर्कटपाताको छानो भएको पशु राख्ने टहराको नजिकै रहेको गाईवस्तु पानी खाने नालीभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएसँगै इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली पुगेर घटनास्थलको निरीक्षण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बूका अनुसार मृतक अन्दाजी ५५ वर्षका पुरुष रहेका छन् । हालसम्म उनको परिचय खुल्न सकेको छैन ।

प्रहरीका अनुसार मृतकको दाहिने गालामा धारिलो हतियारले प्रहार गरिएको जस्तो देखिने गहिरो घाउ रहेको छ । यसबाट घटना शंकास्पद रहेको र हत्या भएको आशंका गरिएको प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि दमक अस्पतालमा पठाइएको छ भने घटनाको विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
साभार : डिसी नेपाल
























