प्रदीप सम्राट, रौतहट ।
असोज १४ गते, मंगलबार ।
नेकपा (एकीकृत समाजवादी) वृन्दावन नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा सम्पूर्ण नगरबासीसँगै देश–विदेशमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूको समृद्धि, शान्ति र प्रगतिका लागि मंगलकामना व्यक्त गरिएको थियो ।
यस अवसरमा भदौ २३ र २४ गतेको जेन्जि आन्दोलनमा सहादत प्राप्त गरेका साथीहरू, प्रहरी जवान तथा कैदीबन्दीको अनाहकमा भएको ज्यान गुमाइप्रति गहिरो श्रद्धाञ्जली अर्पण गरिएको थियो । त्यस्तै आन्दोलनका क्रममा घाइते भएका सबैप्रति छिटो स्वास्थ्य लाभको शुभेच्छा व्यक्त गरिएको थियो ।
कार्यक्रममा वक्ताहरूले अबको राजनीति जनताको भावनालाई प्राथमिकतामा राख्दै, विशेषगरी युवा पुस्ताको चाहना र आकांक्षालाई सम्मान गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए । भ्रष्टाचार र बेथितिको विरुद्ध दृढतापूर्वक आवाज उठाउनुपर्ने र समाज, देश तथा जनताको हितलाई केन्द्रमा राखेर जिम्मेवार राजनीति गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो ।
“राजनीतिक नेतृत्वले नागरिकका कामप्रति उत्तरदायी भएर सेवा पुर्याउनुपर्छ, अन्यथा जनताको हित विपरीत हुने कार्य सहन योग्य छैन,” कार्यक्रमका वक्ताहरूले एक स्वरमा भने । उनीहरूले समाजवादसहितको राजनीति गर्दै, समाज र जनताको मन जित्दै पार्टी र नेतृत्वले आफैं फेल–पास हुँदै जाने मानसिकताका साथ अघि बढ्नुपर्ने संकल्प पनि व्यक्त गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता वृन्दावन नगर प्रमुख विनोद प्रसाद कुर्मीले गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वडाध्यक्ष जगरनाथ पाल, नेता प्रवेज आलम, विभिन्न वडाध्यक्ष, सदस्यहरू, स्थानीय जनप्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
नगर कमिटीका पदाधिकारीहरूले यस किसिमका कार्यक्रमहरू जनतासँग प्रत्यक्ष संवाद गर्न, आपसी एकता बलियो बनाउन र समाजवादी आन्दोलनलाई सुदृढ बनाउने माध्यम हुने बताएका छन् ।
























