शिलादीप खबर न्युज डेस्क,
असोज १२ गते, आइतबार ।
काठमाडौं — तमिलनाडुमा अभिनेता विजयको र्यालीका क्रममा भएको दु:खद दुर्घटनामा ज्यान गुमाउने तथा घाइते हुने परिवारप्रति उनले गहिरो समवेदना व्यक्त गर्दै आर्थिक सहयोगको घोषणा गरेका छन्।

विजयले आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत विज्ञप्ति जारी गर्दै दुर्घटनामा प्रियजन गुमाएका प्रत्येक परिवारलाई २० लाख रुपैयाँ सहयोग गर्ने जनाएका छन्। त्यस्तै, उपचाररत घाइतेहरूलाई सहयोगस्वरूप २ लाख रुपैयाँ प्रदान गर्ने प्रतिज्ञा गरेका छन्।
“यो क्षतिलाई कुनै रकमले भरपाई गर्न सकिँदैन,” विजयले लेखेका छन्, “तर यस कठिन घडीमा तपाईंहरूको परिवारको सदस्यझैं साथ दिनु मेरो जिम्मेवारी हो।”
तमिलनाडुका स्वास्थ्य सचिव पी. सेन्थिल कुमारका अनुसार करुरमा भएको भगदडमा ३९ जनाको मृत्यु भएको छ। मृतकमध्ये १७ महिला, १३ पुरुष, ४ बालक र ५ बालिकाहरू छन्।

उनीका अनुसार ३० जनाको पोस्टमार्टम सकिएको छ र शवहरू सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ। शनिबार विजयको चुनावी सभामा अनियन्त्रित भीडका कारण भगदड मच्चिँदा यो ठूलो जनधनको क्षति भएको हो।
























