शिलादीप खबर न्युज डेस्क
असोज १५ गते, बुधबार ।
आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको नवौँ दिन आज देशभर सिद्धिदात्री देवीको विशेष पूजा–आराधना गरी मनाइँदै छ । वैदिक परम्परा अनुसार दुर्गा पक्षको अन्तिम दिनमा नवदुर्गामध्येकी अन्तिम स्वरूप सिद्धिदात्री देवीलाई आव्हान गरी श्रद्धा अर्पण गर्ने चलन रहिआएको छ ।
धार्मिक ग्रन्थहरू अनुसार सिद्धिदात्री देवी सम्पूर्ण साधकलाई सिद्धि र मोक्ष प्रदान गर्ने भएकाले उहाँलाई ‘सिद्धिदायिनी’ पनि भनिन्छ । देवीभागवत र अन्य पौराणिक उल्लेखमा गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा पनि यिनको पूजा हुने उल्लेख पाइन्छ । नौ दुर्गामध्ये नवौँ स्थानमा रहने यस देवीको स्मरण मात्रले पनि मनुष्यले जीवनका दुःख, संकट र बाधाबाट मुक्ति पाउने धार्मिक विश्वास रहेको छ ।
नवरात्रको पहिलो दिन घटस्थापना गरेर जमरा राखी शैलपुत्री देवीको आव्हानसँगै पूजा–आराधना सुरु गरिन्छ । त्यसपछि क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि र महागौरीको पूजा गरी आज नवमीका दिन सिद्धिदात्री देवीको आराधना गर्दै नवरात्रको धार्मिक विधि सम्पन्न गरिन्छ ।
नवरात्रभर घटस्थापनास्थलमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र विभिन्न देवी स्तोत्रको पाठ गरिन्छ । शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वासले सनातन धर्मावलम्बीले यो पर्वलाई विशेष महत्वका साथ मनाउँछन् ।
नवरात्र सकिएपछि विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म पूजाबाट प्राप्त प्रसाद ग्रहण गर्ने प्रथा छ । यसरी १५ दिन लामो धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा नेपालीहरूले बडादसैँ पर्वलाई उल्लासपूर्वक मनाउने परम्परा रहेको छ ।
























