प्रदीप सम्राट, रौतहट ।
असोज १ गते, बुधबार ।
रौतहट जिल्लाको वृन्दावन नगरपालिकामा आज जेनजि आन्दोलनका क्रममा सहादत प्राप्त गरेका अमर सहिदहरूको सम्झनामा विशेष कार्यक्रमसहित सहिद दिवस मनाइएको छ । नगर प्रमुख विनोद प्रसाद कुर्मीले नगरपालिकाको तर्फबाट सहिदहरूको अमूल्य योगदानप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको आत्माको चिरशान्तिको कामना गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख कुर्मीले “देश र जनताको हितका लागि ज्यान अर्पण गर्ने सहिदहरू हाम्रो गौरव हुन् । उहाँहरूको बलिदान र आदर्शलाई आत्मसात गरी हाम्रो पालिकाको समृद्धि र विकासमा अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जलि हो,” भन्दै सहिदहरूको सम्झनामा एक दिन सार्वजनिक बिदा दिइएको जानकारी दिनुभयो ।
कार्यक्रमको सुरुवातमा उपस्थित सबैले एक मिनेट मौनधारण गर्दै सहिद आत्माको चिरशान्तिको प्रार्थना गरेका थिए । नगर प्रमुख कुर्मीले सहिदहरूको स्वर्गीय बासको कामना गर्दै पालिकाले आगामी दिनहरूमा उहाँहरूले देखाएको बाटोअनुसार सत्य, न्याय र समानताको पक्षमा अडान लिन प्रतिबद्ध रहेको प्रतिवद्धता जनाउनुभयो ।
यस अवसरमा पालिकाका सम्पूर्ण कर्मचारी, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, शुभेच्छुक, समाजसेवी, बुद्धिजीवी तथा स्थानीय जनसमुदायको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले सहिदहरूले देखाएको बाटो नै नयाँ पुस्ताका लागि मार्गदर्शन हुने धारणा राख्दै सहिदहरूको सपना पूरा गर्न सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमलाई भव्य एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ । सहिदहरूको सम्झनामा मनाइएको आजको दिनले नगरवासीलाई एकताको सन्देश मात्र दिएको छैन, नगरपालिकालाई सहिद आदर्शअनुसार अघि बढ्न प्रेरणा पनि प्रदान गरेको सहभागीहरूको भनाइ छ ।
























