रौतहटमा ‘प्रेस’ लेखिएका सवारी साधनमा रोक
शिलादीप खबर डेस्क ,
भदौ १७ गते, मंगलबार ।
रौतहट — नेपाल पत्रकार महासंघ रौतहट शाखाले जिल्लामा ‘प्रेस’ लेखिएका सवारी साधनको दुरुपयोग बढ्दै गएको भन्दै अबदेखि यस्तो प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
रौतहट शाखा समितिको बैठकले अबदेखि कुनै पनि सवारीसाधनमा सामान्यतया ‘प्रेस’ लेख्न नपाइने स्पष्ट गरेको हो। बैठकले मिडिया हाउसको नाममा खरिद भएका सवारीसाधनमा भने सो संस्थाको नाम मात्र उल्लेख गर्न सकिने व्यवस्था मिलाइएको जनाएको छ।
महासंघका अनुसार आपतकालीन अवस्था, कर्फ्यू वा सवारी–आवागमनमा रोक लगाइएको विशेष परिस्थितिबाहेक अन्य समयमा ‘प्रेस’ लेखिएको सवारी प्रयोग नगर्न सबै सञ्चारकर्मीलाई आग्रह गरिएको छ।
हाल ‘प्रेस’ नाममा सवारीसाधनको दुरुपयोग हुँदै आएको गुनासो बढ्दै गएकाले कडाइका साथ छानबिन र अनुगमन गर्ने तयारी गरिएको महासंघले जनाएको छ। यसका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग सहकार्य गरी चेकजाँचलाई कडा बनाइने निर्णय समेत बैठकले गरेको छ।
























