प्रदीप कुमार दास,रौतहट ।
चैत १७ गते, मंगलबार ।
रौतहटको बृन्दावन नगरपालिका, नगर कार्यपालिकाको कार्यालय (कृषि विकास शाखा) विश्रामपुरले चालु आर्थिक वर्ष २०८२/८३ अन्तर्गत किसानलाई आवश्यक रसायनिक मल उपलब्ध गराउने उद्देश्यले युरिया मलको कोटा निर्धारण गरेको छ।
नगरपालिकाअन्तर्गत गठन भएको स्थानीय मल वितरण व्यवस्थापन समितिको मिति २०८२ चैत १६ गते बसेको बैठकले विभिन्न सहकारी संस्था तथा बिक्रेतामार्फत मल वितरण गर्ने निर्णय गरेको हो। सोही निर्णयअनुसार कृषि सामग्री कम्पनी लिमिटेड, चन्द्रपुरलाई आवश्यक मल उपलब्ध गराउन पत्राचार गरिएको छ।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार दर्ता कायम रहेका कृषि सहकारी संस्था तथा उपभोक्ता सहकारीमार्फत वडा–वडामा युरिया मल वितरण गरिनेछ। निर्धारण गरिएको कोटाअनुसार वडा नं. १ का विभिन्न क्षेत्रमा ४८ बोरा, वडा नं. २ र ३ मा ५६–५६ बोरा, वडा नं. ५ मा ७० बोरा, वडा नम्बर ६ मा ११४ बोरा तथा वडा नं. ७, ८ लगायत अन्य वडाहरूमा पनि आवश्यकताअनुसार मल वितरण गरिने जनाइएको छ।
विशेषगरी केही ठूला सहकारी संस्था मार्फत वडा नं. ४ र ९ मा बढी परिमाणमा मल उपलब्ध गराइने व्यवस्था मिलाइएको छ, जसअन्तर्गत केही स्थानमा १९२ बोरा सम्मको कोटा निर्धारण गरिएको छ।
यस वितरण योजनाअनुसार जम्मा १ हजार बोरा युरिया मल किसानसम्म पुर्याइने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले सबै सम्बन्धित सहकारी संस्था तथा सरोकारवालालाई निर्धारण गरिएको कोटा अनुसार मल वितरण कार्य प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गरेको छ। साथै, मल अभाव हुन नदिन समयमै आपूर्ति सुनिश्चित गर्न कृषि सामग्री कम्पनीसँग समन्वय गरिएको बताइएको छ।
बृन्दावन नगरपालिकाले “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगार : समृद्धिको आधार” भन्ने मूल नारासहित कृषकको उत्पादन वृद्धि र सहज खेतीपातीलाई प्राथमिकता दिँदै आएको जनाएको छ।

























