प्रदीप सम्राट, रौतहट ।
वैशाख ६ गते आईतबार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेश प्रदेश अध्यक्ष तथा सिराहा–४ का सांसद ईञ्जिनियर तपेश्वर यादवले सीमावर्ती क्षेत्रमा १०० रुपैयाँभन्दा बढी सामान ल्याउँदा भन्सार अनिवार्य गर्ने सरकारी निर्णयको कडा विरोध गरेका छन्। उनले यो व्यवस्था अव्यवहारिक भएको भन्दै नेपाल–भारतबीचको परम्परागत रोटी–बेटी सम्बन्धलाई ध्यानमा राख्न सरकारसँग माग गरेका छन्।
यादवले लागूऔषध नियन्त्रण र अवैध कारोबार रोक्न कडाइ आवश्यक भए पनि सर्वसाधारणलाई दुःख दिने नीति स्वीकार्य नहुने बताए। विवाह–भोज, कृषि सामग्री तथा दैनिक उपभोग्य वस्तुमा सहजीकरण गर्नुपर्ने उनको आग्रह छ।
उता, जनता समाजवादी पार्टी नेपालका संरक्षक महन्थ ठाकुरले पनि विज्ञप्ति जारी गर्दै उक्त निर्णय पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन्। सीमावर्ती क्षेत्रमा नयाँ नियम लागू भएपछि तराई–मधेशमा विरोध बढ्दै गएको छ।

























