प्रदीप कुमार दास,रौतहट ।
चैत ०९ गते,सोमबार ।
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) रौतहट निर्वाचन क्षेत्र नं. ३ ले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समिक्षा गर्दै आगामी रणनीति निर्माणतर्फ उन्मुख भएको छ। क्षेत्रीय तहमा आयोजित समीक्षा बैठकले निर्वाचन परिणामको गहिरो विश्लेषण गर्दै संगठन सुदृढीकरण र जनपरिचालनलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको छ।

क्षेत्र नं. ३ अन्तर्गत जनपरिचालन समितिका संयोजक रामप्रवेश दास तात्मा को अध्यक्षतामा सम्पन्न उक्त बैठकमा सोही क्षेत्रका उम्मेदवार गोविन्द चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। बैठकमा पार्टीका स्थानीय तहका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै पूर्व मन्त्रीसमेत रहेका चौधरीले निर्वाचनमा आएको परिणामलाई केवल हार वा जितको रूपमा नभई सिकाइको अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे। उनले विगतका अनुभवबाट पाठ सिक्दै संगठनलाई थप मजबुत बनाउनेतर्फ सबै लाग्नुपर्ने बताएका छन् । “राजनीतिमा उतारचढाव स्वाभाविक प्रक्रिया हो, त्यसैले निराश नभई अझ सशक्त ढंगले अगाडि बढ्नु आवश्यक छ,” उनले भने।

उनले क्षेत्रभित्र संगठन विस्तार, कार्यकर्ताको मनोबल उच्च बनाउने तथा जनतासँगको सम्बन्ध अझ मजबुत बनाउने विषयमा विशेष जोड दिनुभएको थियो । इमानदार, सक्रिय र प्रतिबद्ध कार्यकर्ताको सशक्त टोली निर्माण नगरी पार्टीलाई दीर्घकालीन रूपमा अघि बढाउन नसकिने उल्लेख गर्दै उनले सबैलाई एकजुट भएर काम गर्न आह्वान गरे।
चौधरीले निर्वाचन प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक तथा मतदाताप्रति आभार व्यक्त गरे। उनले आगामी दिनमा पार्टीलाई अझ गतिशील र प्रभावकारी बनाउँदै जनताको विश्वास जित्ने दिशामा अघि बढ्नुपर्ने धारणा राखे।

बैठकमा सहभागीहरूले पनि निर्वाचनका क्रममा भएका कमजोरी, चुनौती तथा अवसरबारे खुलेर धारणा राखेका थिए। उनीहरूले संगठनभित्र देखिएका कमजोरी सुधार गर्दै आगामी निर्वाचनका लागि सशक्त तयारी गर्नुपर्नेमा जोड दिएका छन्। साथै, स्थानीय स्तरमा जनसम्पर्क विस्तार, युवाहरूको सहभागिता वृद्धि तथा संगठनात्मक संरचना सुदृढ बनाउने विषयलाई प्राथमिकतामा राखिएको जनाइएको छ।

यसैबीच, बैठकले आगामी दिनका लागि स्पष्ट कार्ययोजना तयार पार्दै पार्टीलाई थप चलायमान र प्रभावकारी बनाउने निर्णय गरेको छ। सहभागीहरूको भनाइमा, यो समीक्षा बैठक केवल विगतको मूल्यांकन मात्र नभई भविष्यको मार्गचित्र कोर्ने महत्वपूर्ण अवसरका रूपमा स्थापित भएको छ।



























