चैत ०९ गते ,सोमबार ।
शिलादीप खबर ।
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट देखिएको छ। पछिल्लो एक साताको अवधिमा सुनको भाउ करिब ३४ हजार रुपैयाँले घट्दै उपभोक्तालाई केही राहत मिलेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेको हो । यसअघि आइतबार पनि सुनको भाउ १२ हजार ५ सय रुपैयाँले ओरालो लागेको थियो ।
महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ कायम गरेको जनाएको छ । अघिल्लो दिन भने यही सुन २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार चाँदी प्रतितोला ११५ रुपैयाँले घट्दै ४ हजार ४२५ रुपैयाँमा झरेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ५४० रुपैयाँ कायम रहेको थियो ।
हाल अन्तर्राष्ट्रिय बजारको प्रभाव तथा माग–आपूर्तिमा आएको परिवर्तनका कारण सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरू बताउँछन् ।

























