शिलादीप अनलाईन खबर,
कार्तिक १४ गते, शुक्रबार ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहलाई पार्टीको केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी प्रदान गरेको छ। पार्टीको हालै सम्पन्न केन्द्रीय बैठकको निर्णयअनुसार साहलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो।
उक्त जिम्मेवारी ग्रहणसँगै नगर प्रमुख साहले बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहमा पार्टीका राष्ट्रिय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
स्थानीय सरकारको नेतृत्व गरिरहेका गौर नगर प्रमुख साहलाई पार्टीको केन्द्रीय तहमा पनि जिम्मेवारी प्रदान गरिनु राजनीतिक दृष्टिले अर्थपूर्ण कदमका रूपमा लिइएको छ। स्थानीय स्तरमा सक्रिय र जनमुखी नेतृत्वका रूपमा स्थापित साहले अब केन्द्रीय राजनीतिमा पनि आफ्नो अनुभव र कार्यशैलीको योगदान दिने अवसर प्राप्त गर्नुभएको छ।
शपथ ग्रहणपछि साहले पार्टीको नीति निर्माण, संगठन सुदृढीकरण तथा समग्र कम्युनिष्ट आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
नेकपा (एकीकृत समाजवादी) ले हालै सम्पन्न महाधिवेशन र केन्द्रीय कमिटीको बैठकपछि विभिन्न तहका जिम्मेवार नेताहरूलाई क्रमशः केन्द्रीय संरचनामा समावेश गरिरहेको छ। सोही निरन्तरतामा गौर नगर प्रमुख शम्भु साहलाई पनि केन्द्रीय सदस्यको गरिमामय पद प्रदान गरिएको हो।
साहको मनोयनपछि गौर लगायत रौतहट जिल्लाभरि शुभेच्छा र बधाईका संदेशहरू सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका छन्। स्थानीय जनप्रतिनिधि, पार्टी कार्यकर्ता र शुभेच्छुकहरूले उहाँलाई नयाँ जिम्मेवारीमा सफल कार्यकालका लागि शुभकामना दिएका छन्।
























