महोत्तरी, ८ कार्तिक – महोत्तरीको गौशाला नगरपालिका–५ अन्तर्गत गौशाला बजार क्षेत्रमा सर्लाहीका एक युवक मृत अवस्थामा फेला परेका छन्।
प्रहरीका अनुसार मृतक सर्लाही जिल्ला हरिपूर्वा नगरपालिका–९ बसन्तपुरका करिब ३० वर्षीय रामानन्द बैठा हुन्। स्थानीयवासीले बजार क्षेत्रमा उनी बेहोस अवस्थामा रहेको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा पुगेको प्रहरी टोलीले बैठालाई मृत अवस्थामा फेला पारेको थियो। प्रारम्भिक अनुसन्धानबाट उनी लामो समयदेखि मादक पदार्थ सेवन गर्ने गरेको र यसकै कारण स्वास्थ्यमा समस्या देखिँदै आएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्रकुमार भट्टले बताए।
उनका अनुसार मृतकको वास्तविक मृत्युको कारण खुल्न पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ। प्रहरीका अनुसार बैठाका आफन्तलाई जानकारी गराइसकिएको छ र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
स्रोत : दैनिक नेपाल
























