शिलादीप अनलाईन खबर,
कार्तिक ५ गते, बुधबार
रौतहटको गौर नगरपालिका–५ का पूर्व वडाअध्यक्ष तथा नेकपा (एमाले) रौतहट जिल्ला कमिटीका सदस्य रामस्वार्थ राय यादवको आज बिहान करेन्ट लागेर दुःखद निधन भएको छ।
प्राप्त विवरण अनुसार, यादव आफ्नै करेसाबारीमा विद्युतीय मोटर प्रयोग गरी पानी सिँचाइ गर्दै गर्दा अचानक करेन्ट लागेको थियो। करेन्टले गम्भीर रूपमा घाइते भएका उहाँलाई तत्काल स्थानीयवासीहरूले उद्धार गरी प्रादेशिक अस्पताल गौर पुर्याएका थिए। तर, चिकित्सकले बिहान ४:३० बजे उहाँलाई मृत घोषित गरेका थिए।
स्व. यादव लामो समयदेखि स्थानीय राजनीति र सामाजिक सेवामा सक्रिय रहँदै आउनुभएको थियो। समाजसेवी, मिलनसार र सहयोगी स्वभावका कारण उहाँ स्थानीय समुदायमा लोकप्रिय व्यक्तित्वका रूपमा चिनिनुहुन्थ्यो।
हाल उहाँको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमै राखिएको प्रहरीले जनाएको छ। परिवार, पार्टी र स्थानीयवासीहरूले उहाँको असामयिक निधनले ठूलो क्षति पुगेको बताएका छन्।
























