असोज २८, काठमाडौं ।
लेगस्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनसँगै नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–पेसिफिक छनोटको सुपर सिक्स चरणमा कतारलाई ५ रनले पराजित गरेको छ ।
१४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमै समेटिँदा नेपालले कठिन संघर्षपछि रोमाञ्चक जित निकालेको हो ।
कतारका ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन र जुबेर अलीले ५२ रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन् । बाँकी ब्याटरहरू नेपाली बलिङअगाडि टिक्न नसक्दा कतार पराजित हुन पुग्यो ।
नेपालका तर्फबाट सन्दीप लामिछानेले ४ ओभरमा मात्र ५ विकेट झारे भने नन्दन यादवले २ र दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले कप्तान रोहित पौडेलको अर्धशतकको सहारामा २० ओभरमा ९ विकेटको क्षतिमा १४७ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो ।
रोहितले ४१ बलमा ५८ रनको पारी खेले भने दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ रन, र गुल्शन झाले अन्त्यतिर ८ बलमा १६ रनको तिखो इनिङ खेलेका थिए ।
बलिङतर्फ कतारका कप्तान मिर्जा बेगले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए भने डानियल लुइसले पनि ३ विकेट हात पारे ।
यो जितसँगै सुपर सिक्समा नेपालको लगातार दोस्रो जित भएको छ । यसअघि नेपालले आइतबार यूएईलाई पराजित गरेको थियो ।
अब नेपालको नाममा ६ अंक पुगेको छ र टोली टी–२० विश्वकपमा स्थान बनाउने दह्रो सम्भावनामा पुगेको छ ।
नेपालले सुपर सिक्स अन्तर्गत अब ओमान र सामोआविरुद्धका दुई महत्वपूर्ण खेल बाँकी रहेका छन् ।
यदि नेपालले यीमध्ये एक खेल जित्न सफल भयो भने, विश्वकपको ढोका औपचारिक रूपमा नेपालका लागि खुल्नेछ।
























