काठमाडौं – आज आश्विन शुक्ल षष्ठीको दिन सम्पूर्ण देशभर कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदैछ । वैदिक सनातन परम्परा अनुसार प्रत्येक वर्ष यसै दिन कात्यायनी देवीको विधिपूर्वक पूजा गर्ने चलन रहेको छ ।
पौराणिक कथाअनुसार देवताहरूका कार्य सम्पन्न गर्न भगवतीले कात्यायन ऋषिको आश्रममा अनुपम रूपकी कन्या भई अवतार लिएको उल्लेख पाइन्छ । ऋषि कात्यायनले पुत्रीका रूपमा स्वीकार गरेकाले नै उनको नाम ‘कात्यायनी’ रहन गएको मानिन्छ ।

धार्मिक ग्रन्थमा कात्यायनीलाई शार्दूलवाहिनी, दानव संहारिनी तथा खड्गधारिणी देवीका रूपमा वर्णन गरिएको छ । ती नग्न रूपिनी, शरीरमा तेल घसेकी, गधामा आरूढ, कानमा जपापुष्प र यार्लिङ लगाएकी, चुल्ठो बाँधिकी तथा ठूला ओठ भएकी रूपमै प्रतिष्ठित छन् ।

दसैँका नौ दिनभित्र गरिने ‘नवदुर्गा’ आराधनाअन्तर्गत आज छैटौँ दिन कात्यायनीको पूजा गरिन्छ । दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा–आराधना गर्ने प्रचलन छ ।

























