शिलादीप खबर न्युज डेस्क,
असोज ०९ गते ,बिहीबार ।
नवरात्रको चौथो दिन आज देशभर कुष्माण्डा देवीको विशेष पूजा–आराधना हुँदैछ। नवदुर्गाको चौथो स्वरूपका रूपमा पूजिने भगवती कुष्माण्डा ब्रह्माण्ड सृष्टिको आदिकारण मानिन्छन्। धार्मिक विश्वासअनुसार यिनीको आराधना गर्ने भक्तजनलाई रोग, शोक, भय, बाधा र कष्टहरूबाट मुक्ति मिल्छ भन्ने धारणा प्रचलित छ।
सिंहमाथि आरूढ अष्टभुजाधारी कुष्माण्डा देवीका हातमा कमण्डलु, कलश, धनु, वाण, कमल, चक्र र गदा रहेका छन्। देवीका यी अस्त्र–शस्त्र र प्रतीकात्मक सामग्रीलाई शक्ति, साहस, समृद्धि, बुद्धि र धर्मको प्रतीकका रूपमा लिइन्छ।
नवरात्रमा प्रत्येक दिन नवदुर्गामध्ये एक देवीको आराधना गर्ने प्रचलन छ। घटस्थापना गरिएको स्थानदेखि देशभरका शक्तिपीठ, मन्दिर र देवालयमा भक्तजनहरू बिहानैदेखि दर्शन, पूजापाठ र दुर्गासप्तशती पाठमा सहभागी भइरहेका छन्। विशेषगरी नवरात्रको चौथो दिनमा कुष्माण्डा देवीलाई प्रसन्न पार्न भक्ति–भावपूर्वक पूजा गर्दा जीवनमा शक्ति र उत्साह प्राप्त हुने जनविश्वास छ।
पुराणहरूमा उल्लेख भएअनुसार देवी पार्वतीले विभिन्न समयमा धर्मरक्षा र दुष्ट शक्तिको विनाशका लागि विभिन्न स्वरूप ग्रहण गरेकी थिइन्।
ती नौ स्वरूपलाई नै नवदुर्गा भनेर नवरात्रको नौ दिन विशेष पूजा गर्ने चलन रहेको छ। आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नवरात्रमा घटस्थापना गरेर घडामा देवीको आह्वान गरिन्छ। त्यसपछि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरेर दशमीका दिनमा विजया दशमीको उल्लास मनाइन्छ।
यसै क्रममा, घटस्थापनामा राखिएको कलश वा घडामा महाकाली, महालक्ष्मी र महासरस्वतीको समेत आराधना गर्ने परम्परा छ। यो घडालाई शक्ति, समृद्धि र ज्ञानको प्रतीक मानिन्छ।
देशका विभिन्न मन्दिरहरुमा आज बिहानदेखि नै भक्तजनको घुँइचो देखिएको छ। शक्तिपीठमा विशेष पूजा, व्रत र अनुष्ठान गरी देवीप्रति आस्था प्रकट गर्नेहरूको भीड बाक्लिएको छ।
भक्तजनहरू नवरात्रको प्रत्येक दिनलाई पवित्र अवसर मानी आत्मिक शुद्धि, मनोकामना पूर्ति र पारिवारिक सुख–समृद्धिको कामना गर्दै देवीको आराधनामा तल्लीन भएका छन्।
यसरी चौथो दिनको पूजा सम्पन्न भएपछि अब क्रमशः बाँकी पाँच दिनमा अन्य स्वरूपहरूको पूजा–आराधना गरिनेछ र अन्ततः नवदुर्गा अनुष्ठान विजया दशमीका दिन सम्पन्न हुनेछ।
























