शिलादीप खबर न्युजडेस्क,
असोज ०७ गते, मंगलबार ।
काठमाडौँ । नेपाल संघीय समाजवादी पार्टीकी केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेशसभामा संसदीय दलकी नेत्री माननीय बिमला अन्सारीले हालै सम्पन्न ‘Gen Z’ पुस्ताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको मागसहित भएको ऐतिहासिक आन्दोलनलाई समर्थन व्यक्त गर्नुभएको छ। प्रदेशसभाको छैटौँ अधिवेशनको तेस्रो बैठकलाई सम्बोधन गर्दै उहाँले उक्त आन्दोलनलाई केवल राजनीतिक मुद्दा नभई समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने, धर्मनिरपेक्षताको जग मजबुत पार्ने र समानता–सामाजिक न्यायलाई संस्थागत गर्ने अभियानको रूपमा व्याख्या गर्नुभयो।
सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै अन्सारीले घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्नुका साथै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभयो।
तर उहाँले आन्दोलनमा प्रतिक्रियावादी, अतिवादी र यथास्थितिवादी शक्तिहरूले घुसपैठ गरी संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, प्रदेशसभा भवनसहित विभिन्न सरकारी संरचनामा आगजनी र तोडफोडजस्ता आपराधिक गतिविधि सञ्चालन गरेकोमा कडा आपत्ति जनाउनुभयो। “यी गैरलोकतान्त्रिक गतिविधिले आन्दोलनको मर्यादालाई मात्र होइन, सम्पूर्ण जनताको धरोहरलाई नै क्षति पुर्याएको छ,” भन्दै उहाँले दोषीहरूलाई निष्पक्ष छानबिनमार्फत कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गर्नुभयो।
त्यसैगरी, भदौ २३ र २४ गते भएको सरकारी दमन र त्यसपछिका हत्या, हिंसा, लुटपाट तथा आगजनीप्रति पनि अन्सारीले कडा असन्तुष्टि जनाउनुभयो। लोकतन्त्रमा जनताको आवाज दमन नभई सम्बोधन हुनुपर्ने बताउँदै उहाँले स्वतन्त्र उच्चस्तरीय छानबिन आयोग गठन गरी घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो।
वर्तमान राजनीतिक तरल अवस्थाको फाइदा उठाउँदै संविधान र संघीयताको विरोधमा उत्रिएका शक्तिहरूको गतिविधिप्रति चिन्ता व्यक्त गर्दै अन्सारीले भनिन्, “संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्याय र समानताको मार्गदर्शनलाई हृदयंगम गर्दै हामी थप अधिकार प्राप्तिका लागि लोकतन्त्र र संविधानको रक्षा गर्दै अघि बढ्नेछौँ।”
अन्त्यमा, नजिकिँदै गरेको बडादशैं पर्वको अवसरमा उहाँले सम्पूर्ण प्रदेशवासी तथा देशवासीमा शान्ति, समृद्धि, स्वास्थ्य, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो।
























