काठमाडौँ । असोज ३
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधान कार्यान्वयनमा देखिएका कमजोरीहरूको ईमानदार समीक्षा गरी देशलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।
संविधान दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले शान्ति, स्थिरता र विकासका साथै भ्रष्टाचारको अन्त्य, सुशासनको सुनिश्चितता र रोजगार सिर्जनालाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार, यिनै माध्यमबाट मात्र मुलुकलाई आर्थिक तथा सामाजिक रूपान्तरणको मार्गमा अघि बढाउन सकिन्छ ।
अध्यक्ष नेपालले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका आन्दोलनदेखि लिएर न्याय र अधिकारका विभिन्न संघर्षमा जीवन अर्पण गर्ने सहिदहरूलाई श्रद्धाञ्जली व्यक्त गरे । साथै उनले हालैको जेन–जी आन्दोलनमा बलिदान दिने युवाहरूको सम्झना गर्दै उनीहरूप्रति सम्मान प्रकट गरे ।
उनको भनाइमा, प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था, नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, स्वतन्त्र र निष्पक्ष न्यायपालिका तथा कानुनी शासन संविधानका विशेषता हुन् । यी मूल्य मान्यतालाई आत्मसात् गर्दै मुलुकलाई अगाडि बढाउनु सबैको जिम्मेवारी भएको उनले उल्लेख गरे ।
“संविधान जारी भएपछि राज्य संरचना र शासन व्यवस्थामा महत्वपूर्ण सुधार भए तापनि संविधानले कल्पना गरेको सुशासन र आर्थिक समृद्धिको यात्राले अझै अपेक्षित गति लिन सकेको छैन,” उनले सन्देशमार्फत भनेका छन् ।
























