प्रदीप सम्राट, रौतहट ।
फाल्गुन १० गते,आईतबार ।
रौतहट क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्य पदका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार रामजी साहले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन्। घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिँदै उहाँ आइतबार बृन्दावन नगरपालिका–५ र ६ का विभिन्न बस्तीमा पुग्नुभएको हो।

कार्यक्रमअन्तर्गत नरकटिया र हर्षाहामा आयोजित भेटघाटमा स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै साहले आफ्ना प्राथमिकता र विकासका योजनाबारे धारणा राख्नुभएको छ । सो अवसरमा स्थानीयवासीहरूले उत्साहजनक उपस्थिति जनाउँदै स्वागत गरेका थिए।

भेटघाटका क्रममा अधिकांश मतदाताले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। नरकटिया र हर्षाहाका बासिन्दाहरूले एउटै स्वरमा यसपटक परिवर्तन र विकासका लागि सक्षम नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका छन् ।

उनीहरूले अब पूर्वाधार निर्माण, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा तथा युवालाई रोजगारी सिर्जना गर्ने ठोस योजनासहित काम गर्ने प्रतिनिधि चाहिएको बताएका छन्।

मतदाताको सक्रियता र समर्थनले उम्मेदवार साह उत्साहित देखिनुभएको थियो। उहाँले जनविश्वासलाई उच्च सम्मान गर्दै क्षेत्रको समग्र विकास, सुशासन र समृद्धिका लागि आफू प्रतिबद्ध रहने विश्वास दिलाउनुभयो।
रौतहट–४ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै जाँदा उम्मेदवारहरूको घरदैलो अभियानले थप गति लिएको देखिएको छ।


























