बुटवल
वैशाख ५ गते, ।
बुटवलमा विभिन्न क्लिनिक र अस्पतालमा उपचार गराउने क्रममा एक गर्भवती महिलाको मृत्यु भएको घटना सार्वजनिक भएको छ। पाल्पाको बगनासकाली गाउँपालिका–२ निवासी गीता पाण्डेको गर्भपतन प्रक्रियाका क्रममा ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।
करिब १२ हप्ताको गर्भ बोकेकी पाण्डे भ्रूणमा स्वास्थ्य समस्या देखिएको भन्दै गर्भपतन गराउन श्रीमानसहित वैशाख ५ गते बुटवल पुगेकी थिइन्। प्रारम्भमा उनलाई इट्टाभट्टीस्थित खत्री नर्सिङ होममा लगिएको थियो, जहाँ स्वास्थ्यकर्मीले औषधिमार्फत गर्भपतन गराउने प्रयास गरेका थिए।
त्यहाँ अवस्था सुधार नभएपछि उनलाई बुटवल अस्पताल लाइनस्थित जोनल फार्मेसी (क्लिनिक) मा सारिएको थियो। उक्त स्थानमा पनि उपचार सम्भव नभएपछि नजिकै रहेको इन्दुलेखा क्लिनिकमा पुनः गर्भपतनको प्रयास गरिएको प्रहरीले जनाएको छ।
तर, ती सबै स्थानमा उपचार प्रभावकारी हुन नसक्दा पाण्डेको स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएको थियो। अन्ततः उनलाई लुम्बिनी सिटी अस्पताल लगिएको थियो, जहाँ पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार घटनापछि मृतकका श्रीमानले कानुनी कारबाहीको माग गर्दै जाहेरी दर्ता गरेका छन्। सोही आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
पक्राउ पर्नेमा खत्री नर्सिङ होमकी सन्ध्या बस्नेत, जोनल क्लिनिककी निलम घर्तीमगर र इन्दुलेखा क्लिनिकका खगेन्द्र पाण्डे रहेका छन्। उनीहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
मृतकका आफन्त सन्तोष पाण्डेका अनुसार जोनल फार्मेसीमा लामो समयदेखि उपचार भइरहेको थियो र भ्रूणको स्वास्थ्य अवस्था जटिल रहेको जानकारी पाएपछि गर्भपतन गर्ने निर्णय गरिएको थियो।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
— कामना डेली





























