प्रदीप कुमार दास,रौतहट ।
फाल्गुन ०६ गते, बुधबार ।
रौतहट क्षेत्र नं. ४ मा आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा रौतहट क्षेत्र नं. ४ मा चुनावी माहोल तातिदैं गएको छ । विशेषगरी नेपाली कम्युनिष्ट पार्टी का युवा तथा जुझारु प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकुमार भट्टराई (तारा छाप) प्रति जनसमर्थन दिनप्रतिदिन सशक्त बन्दै गएको स्थानीय राजनीतिक वृत्तमा चर्चा छ।

आज बृन्दावन नगरपालिका–८ र ९ अन्तर्गतका भुसहा, आकडपाथड तथा बहुअरी गाउँमा सम्पन्न घरदैलो कार्यक्रममा स्थानीयवासीको उल्लेखनीय सहभागिता देखिएको थियो। उम्मेदवार भट्टराई जब टोल–टोल र घर–घर पुग्नुभयो, मतदाताहरूले टीका, माला र दोसाला ओढाएर हार्दिक स्वागत गरेका दृश्यहरूले चुनावी माहोललाई झनै जीवन्त बनाएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

विशेषगरी युवा तथा महिला मतदाताको सक्रिय उपस्थिति देखिनु यसपटकको चुनावी वातावरणको नयाँ विशेषता मानिएको छ। स्थानीय बासिन्दाहरूले विकास निर्माण, रोजगारी सिर्जना, शिक्षा,खानेपानी र स्वास्थ्य सेवाको पहुँच विस्तारजस्ता विषयमा आफ्ना धारणा राख्दै उम्मेदवारसँग प्रत्यक्ष संवाद गरेका थिए।

निर्वाचन आयोगले तोकेको आचारसंहिता र समयसीमाको पूर्ण पालना गर्दै भट्टराईले प्रचार–प्रसारलाई मर्यादित र व्यवस्थित ढंगले अघि बढाइरहनुभएको छ। उहाँको सरल स्वभाव, स्पष्ट विकास दृष्टिकोण र इमान्दार छविका कारण मतदातामाझ सकारात्मक सन्देश प्रवाह भइरहेको समर्थकहरूको दाबी छ।

भट्टराईले घरदैलोका क्रममा देशमा सुशासन स्थापना, पारदर्शी प्रशासन र समृद्धिको दीर्घकालीन आधार निर्माणका लागि सक्षम तथा दृढ नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो। “तारा छापमा मतदान गरी परिवर्तन र विकासको अभियानलाई सफल पारौं,” उहाँले मतदातासँग अपिल गर्नुभयो।

घरदैलो कार्यक्रममा पूर्व सांसद देवेन्द्र पटेल, मधेश प्रदेश पूर्व मन्त्री समीर भट्टराई, मेयर प्रत्यासी राम प्रसाद पटेल, नगर प्रमुख विनोद प्रसाद कुर्मी, वडा नं. ८ का वडाध्यक्ष रवीन्द्र प्रसाद साह, वडा नं. ९ का वडाध्यक्ष परवेज आलम, वडा नं. ७ का वडाध्यक्ष जगनाथ प्रसाद पाल, वडा नं. २ का वडाध्यक्ष सिकिन्द्र पटेल, वडा नं. ४ का वडाध्यक्ष श्यामनन्दन यादव, वडा नं. ४ का वडाध्यक्ष फेकू दास तत्मालगायत विभिन्न तहका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार क्षेत्र नं. ४ मा देखिएको उत्साहजनक जनलहरले यसपटकको निर्वाचनलाई थप प्रतिस्पर्धात्मक बनाउने संकेत गरेको छ। जनताको विश्वास र अपेक्षाको केन्द्रमा रहेका उम्मेदवार भट्टराईले आगामी दिनमा प्रचार अभियानलाई अझ सशक्त बनाउने तयारी गरिरहनुभएको बताइएको छ।

























